हिम्मत हारिएको छैन

समग्र किरातीहरूको साझा पहिचानी सम्पाति स्वालेवा [ चिन्डो जातको प्राकृतिक फल मध्य सबै भन्दा ठूलो जात जसलार्इ किराती वाम्बुले समुदायले मुन्डुमी अस्त्रको रूपमा जन्म देखिन मृत्यु पर्यन्त प्रयोग गर्छन् ], जसको स्थायी स्तम्व निर्माण ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ गाउँ पालिका वडा नं.३ अन्तर्गत ड्याब्ल्वाँमामा तीव्र गतिमा निर्माण भइरहेको छ । वाम्बुले रार्इहरूको पहिचानी प्रतीक को रूपमा निर्माण गरिएको यस योजना मुम्चे रार्इ-” विद्रोही साइँला” को परिकल्पनामा वाम्बुले रार्इ समाज जिल्ला कार्यसमिति सुनसरी बाट प्रस्तावको रूपमा वाम्बुले रार्इ समाज केन्द्रीय कार्यसमितिको २०७३-चैत्र-१०/११ गते सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनमा पेशी गरिएको थियो । यसै सम्मेलन बाट बहुमतले यस योजनालार्इ पारित गरि यसै सम्मेलन बाट निर्वाचित नयाँ कार्यसमितिका उपाध्यक्ष शुभ चन्द्र रार्इको अगुवाइमा निर्माण कार्य सुरु गरिएको थियो । यस ऐतिहासिक निर्माण कार्यमा नेपाल ललित कला प्रज्ञा प्रतिस्थान सङ्ग सहकार्य गर्न आर्थिक तथा प्राज्ञिक सहयोग माग्दै पत्राचार गरिए पश्चात् गरिएको सम्झौता अनुसार आज ललित कला प्रज्ञा प्रतिस्थान परिषद् सदस्य तथा मुर्तिकला प्रमुख धन बहादुर याक्खा [ धनु ]को नेतृत्वमा प्राज्ञिक कलाकारहरू स्वालेवा स्तम्व पार्क निर्माणको लागी वाम्बुले रार्इहरूको उद्गम स्थल तथा सघन बस्ती वाम्ड्याल प्रस्थान गरी सक्नु भएको छ ।
वाम्बुले रार्इ केन्द्रीय कार्यसमितिको स्वामित्व तथा संरक्षणमा निर्माणाधिन यस स्तम्वको लागी जम्मा २ रोपनी जग्गा आमा बुद्दीमाया रार्इ र बुबा चौध बहादुर रार्इको सम्झनामा स्थानीयवासी स्वा. वीर बहादुर रार्इ, परशुराम रार्इ, राम जिती रार्इ र लक्षमण रार्इले निःशुल्क उपलब्ध गराएका छन । यस निर्माण कार्यमा लाग्ने आवश्यक अनुमानित खर्च-३००००००/- मध्य निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम ओखलढुङ्गा क्षेत्र नं.२ बाट १००००००/- र बाँकी रकम संसार भरीका वाम्बुले, वाम्बुले भाषी तथा गैर वाम्बुलेहरू बाट आर्थिक सहयोग सङ्कलन गरिएको छ । हाल सम्म व्यक्तिगत थता संस्थागत सहयोग सङ्कलन- ५०००००/- भन्दा बढेको छैन भने, अझै १५०००००/- भन्दा माथि सहयोग सङ्कलन गर्नु छ र सबैमा अपेक्ष गरिएको छ ।
वम्बुले रार्इहरूको सांस्कृतिक अध्ययन केन्द्रको रूपमा रहने यस तीन चुला तिर्थ धाम, वाम्बुले रार्इहरूको पहिचानी प्रतिक स्वालेवा स्तम्व पर्क निर्माण योजनाका अनुगमन टोली प्रमुख वाम्बुले रार्इ समाज केन्द्रीय कार्यसमितिका सचिव राम कुमार रार्इ- [ हालै सम्पन्न दोस्रो चरणको स्थानिय चुनावद्वरा,ओखल्ढुङ्गा जिल्ला मानेभञ्ज्याङ गाउँपालिका, वडा नं.५ का निर्वाचित वाडाध्यक्ष ] र उपभोक्ता समिति अध्यक्ष सौराज रार्इ का अनुसार स्थानीय तहको दोस्रो चरणको निर्वाचनले पनि निर्माण कार्यमा कुनै असर पुगेको छैन । इमानदार कामदार, अनुशासित नेतृत्व र शान्त वातावरणको कारण निर्धारित समय भन्दा अगावै यो योजना सम्पन्न हुने विश्वास राखिएको छ ।
जम्मा सात जना प्राज्ञिक कलाकार र आवश्यक रूपमा स्थानीय व्यक्तिहरूको सहभागितामा निर्माण हुने यस स्वालेवा स्तम्व आगामी श्रावण महिना भित्र सम्पन्न गरि सक्नु पर्ने कार्यक्रम रहेको छ । यस योजनालर्इ नेपल टेलिभिजनका पत्रकार तथा वाम्बुले रार्इ समाज केन्द्रीय कार्यसमिति का वर्तमान अध्यक्ष गजुर धन रार्इ वाम्बुले रार्इ समाज केन्द्रीय कार्यसमिति तथा किरात रार्इ यायोक्खा केन्द्रीय कार्यसमितिका वर्तमान महासचिव जीवन हाताच्वा रार्इ तथा विभिन्न विद्वान् बुद्धिजीवीहरू बाट अनुगमन भइरहेको छ । सम्भवतः नेपालमै पहिलो पटक दुर्गम तथा कम समुदाय [ वाम्बुले रार्इहरूको जन सङ्ख्या पछिल्लो जनगणनाले पुग अपुग १४०००/- देखाएको छ ] को पहलमा निर्माण गरिएको समग्र किरातीहरूको यस पहिचानी स्तम्वलार्इ हरेक कोण बाट ऐतिहासिक हुने ठहर गरिएको छ ।
नेपाल राज्य सत्ता बाट अपहेलित समुदायहरू मध्य किरात वाम्बुले रार्इहरू पनि एक हुन । युगौँ देखिन आफ्नै बलि र बुटा बाट सामान्य जीवन यापन गर्दै आएका यी समुदायले राज्य सत्ता बाट नितान्त आफ्नो मौलिक पहिचान माथि कुनै सरोकार नराखेको अवस्थालार्इ चुनौती दिँदै विगतमा करोडौँको लगानीमा साढे चार तलाको साझा भवन ललित पुर जिल्लाको इमाडोलमा निर्माण गरि सकेका छन् । वाम्बुले रार्इहरूको नितान्त निजी तर करोडौँको लगानीमा निर्माण गरिएको यस भवन भने तत्कालीन केपी सरकारको राज्या तथा सञ्चार मन्त्री शेर धन रार्इको बाहुली बाट समुद्घाटन गरिएको थियो । नेपाल राज्य सत्ताले यी समुदायको मौलिक तथा पैतृक पहिचानहरूको संरक्षण संवर्धन र यसको विकास गर्नु त कता हो कता ? उल्टै जाँड रक्सी खाने मतुवाली समुदाय भन्दै उपेक्षित गर्दै आएको अवस्थामा यी समुदायहरूले पनि पछिल्लो समयमा आफ्नो पहिचान प्रति दरो र खरो रूपमा उत्रिँदै आएका छन् । यो स्वालेवा स्तम्व निर्माण सकिए लगतै वाम्बुले रार्इहरूको उद्गम स्थल प्रवेश द्वार ऐ. जिल्ला ऐ. गाउँ पालिका वाडा नं.७ स्थित मितेरी भन्ज्याङमा अत्यन्त वाम्बुले रार्इहरूको निजि तथा मौलिक पहिचान झल्कने ” चिख्रयाम किम्सुल ” नामक ठूलो प्रवेशद्वारा गेट निर्माण गर्न तयार भएका छन् । यस अभियानले राष्ट्र गानका रचनाकार ब्याकुल माइलाको नेतृत्वमा चालिएको सिद्दाबाबा धाम दर्शन अभियानमा पनि ठूलो टेवा पुग्ने अनुमान गरिएको छ ।
समाज र देशको विकास नेपालको सन्दर्भमा सरकारले होइन जनताले गर्नु पर्ने रहेछ भन्ने कुरा वाम्बुले रार्इ समुदायले बुझि सकेकोले यस स्वालेवा स्तम्व निर्माण कार्यमा विश्वामा छरिएर रहेका वाम्बुले रार्इहरू अहोरात्र खटिएका छन । जापान, अमेरिका, यूएइ, कतार, साउदी, बेलायत, सिङ्गापुर, जर्मन, हङ्कङ, दक्षिण कोरिया, बहराइन, कुवेत, मकाउ, थाइल्याण्ड लगायतका मनकारी तमाम नेपालीहरू बाट सहयोग सङ्कलन भैरहेको छ । पहिलो पटक राज्याको कोष बाट १०लाख रकम छुट्टिएको यो योजनामा वाम्बुले रार्इहरूको मनोबल बढेर अरू बलियो भएको छ । सबै वाम्बुलेहरूले अहिले एउटै अावाज उठाएर भन्दै अाएका छन कि हामीले हिम्मत हारका छैनम ।

मुम्चे रार्इ- ”विद्रोही साइला” यएइ

Leave a Reply

Your email address will not be published.