सृजना बाचन डबली -प्रवासमा सिर्जनशिल युवाको प्रयास

सृजना बाचन डबली -प्रवासमा सिर्जनशिल युवाको प्रयास

मोहन बस्याल, युएई-प्रवासमा सिर्जनशिल युवाको पनि संख्या ठूलो छ । यसको एउटा उदाहरण हो युएईको सृजना बाचन डबली । पाँचौ श्रृखलासम्म आईपुग्दा यसमा जोडिएका प्रतिभा र उनका भावनामा छल्किएको देश प्रेम, परिवर्तनको चाहना देख्दा लाग्छ देशलाई माया गर्ने ठूलो पंक्ति यतै छ ।
भ्यालेन्टाईन डेको नजिक भएकाले यस पटक सृजना बाचन डबलीमा प्रेम भावनाले भरिएका गजलको संख्या उल्लेख्य रह्यो । तर गजल र गजल बाहेकका रचना सुनाउनेले क्रान्तिका आवाजलाई बुलन्द पारे । कार्यक्रममा ४० बढि साहित्यकारले रचना वाचन गरे ।
कार्यक्रमका संचालक थिए जे सागर । युएईमा मात्र होइन प्रवासमा राम्रै चिनिएका सिन्धुपाल्चोकका साहित्यकार हुन जे सागर । सरल रुपमा कार्यक्रम सञ्चालन गर्ने जे सागरले आफ्नै रचना राख्दा प्रत्येक पंक्तिमा तालिको फोहरा छुट्यो । प्रवासी नेपालीका पिडा, देश प्रेम समेटिएको भावनाले सबैको मन छोयो ।

भयो दुख्यो जिन्दगानी यत्ति भए पुग्छ ।
कति सह्यौं यो हैरानी यत्ति भए पुग्छ ।
काम नाम दाम देलास आशा छैन सरकार
छिटो गरिदे राहदानी यत्ति भए पुग्छ ।
एउटै आशिष छोरालाई बरु शहिद बनोस
तर बनोस स्वाभिमानी यत्ति भए पुग्छ ।
जस्तो बना संघियता हाम्रो भातृत्वमा
नहोस कुनै खिचातानी यत्ति भए पुग्छ ।
मरेपछि स्वर्ग पुगुँ वा नर्कमै परुँ
नेपालकै होस हावापानी यत्ति भए पुग्छ ।
खाडीबाट आमा लागि मुन्द्रा लैजादै छु ।
नलुटिदे राजधानी यत्ति भए पुग्छ ।
मेरो फोटो सन्ततीलाई देखाउदै गर्नु
नमेटियोस चिनाजानी यत्ति भए पुग्छ ।

नेपाल पत्रकार महासंघ युएईका कार्यबाहक अध्यक्ष लक्ष्मण खनाल संकल्पले एउटा कविता र गजल सहित उपस्थिति जनाए । स्याङ्जाका खनालले आफ्नो गजल मार्फत पुर्नयुद्धको आवश्यकता झल्काउने प्रयास गरे ।

आमा भन्छिन फर्क बाबु अति भयो अत्याचार
बाबा रुदै भन्नु हुन्छ फेरी उठाउ हतियार ।

कार्यक्रमको शुरुवातमै धेरै छ गर्न स्वदेशको सेवा नेपाली बन्नलाई बोलको स्वदेशगान गाएर आफ्नो गायकी क्षमता देखाई सकेका गायक गजलकार कृष्ण बिश्वकर्माले प्रेसरसले भरिएको लयबद्ध गजल सुनाए । भरतपुर १० चितवनका सर्जक कृष्णलाई ध्यान मग्न भएर मात्र सुनिएन तालिले पनि उत्तिकै साथ दिईयो ।

परेली स्वयमले नरोकी रहेछ
पुन आशु खस्ने तयारी रहेछ ।

सृजना बाचन डबलीको संयोजनकारी भुमिका निभाउलै आएका तनहुको आबु खैरहनीका टक गुरुङले लयबद्ध प्रेम गित सुनाउदा सबैले ताली बजाए।

हुलाकीले भन्यो मेरो पत्र आयो ।
पठाउनेले भने आफ्नै दिल पठायो ।
युगौमा भेट्न कोही आएको खबर छ ।
तिमी हौ हैन झन चिन्ताले सतायो ।
…………………….

लयबद्ध रुपमा प्रस्तुत भएका भोजपुरका खगेन्द्र समर्पणले सबैको मन जिते ।
सच्चा प्रेम स्विकार गर्न पनि खै दोधार मान्छौ प्रिया ।
अर्कैको सिन्दुर सजाई दिउला गद्धार ठान्छौ प्रिया ।
……………………..
कर्णाालीको मुगुकाका कोमल के थापाले आफ्ना गजल मार्फत सबैको ध्यान खिचे ।

मैले तिमिलाई एक्लै पारे के गर्छौ ।
अरुलाई नै दिलमा सारे के गर्छौ ।

पाँचथरका कवि समदर्शी काईलाको एजसको रातो हस्ताक्षर नामक कविताले बैरागी काईला सम्झायो । युएईका पुराना कवि निमेश गिरीको म फगत सम्भोगको सृजना शिर्षकको कविताले श्रवण मुकारुमको विसे नगर्चीको बयान सम्झायो । उनले कविता मार्फत विद्यमान जातिय विभेदका बिरुद्ध बिद्रोहका स्वर खोले ।

कार्यक्रमको पछिल्लो पङिमा प्रस्तुत भएका झापा सुरुङगाका
बिराजले युवाहरुलाई राम्रै संग तताए ।
कालाको आउछ पालो गोराको आउछ ।
बाको पछि पछि पालो छोराको आउछ ।
गजक्क पर्छ सिटौटो वजनदार बन्दै
पिस्ने बेला त पालो लोहोराको आउछ ।
………………….
बाठी नपाए के र लाटी गर्ने हो ।
यसपाली त बिहे खाटी गर्ने हो ।
रामेछापका दलबिर सिंह बराईरी
कसैले दिए प्रेम उपहार यस्तो
सुनौलो बनाएर संसार यस्तो ।
……………………….
स्यांगजाका लोकश सांघातले प्रस्तुत गरेको गजलले सामाजिक यथार्थ खोल्न खोज्यो ।
मान्छेहरु पत्थर भए माया नपाएपछि
ढुंगा बरु ईश्वर भए आस्था जगाएपछि
……………..
कार्यक्रममा सहभागि एक मात्र महिला हस्ताक्षर । पाल्पा रामपुरकी ओम कुमारी खाँडले प्रेमको भावमा राजनितिक शब्दावली मिसाएर पोखिईन ।

दुई मुटुको दुबै तिर आश थियो भर थियो ।
प्रति गमन हुन्छ भन्ने दुबै तिर डर थियो ।

देशको प्रतिनिधित्व ।

युएईका बिभिन्न क्षेत्रमा छरिएर रहेका नेपाली सर्जकहरु कार्यक्रममा सकभर समय मिलाएर पुगेका हुन्छन् । यो आफैमा युएईकै हिसाबले पनि क्षेत्रियरुपमा समावेशी देखिन्छ । त्यो भन्दा महत्वपुर्ण नेपालका सबै जसो भुभाग, जात जातिको प्रतिनिधित्व कार्यक्रममा देख्न सकिन्छ ।
मध्य पश्चिम नेपालको नेपालगंजका साहित्यकार तथा डाक्टर कृष्णजंग रानाले यि पङित सुनाउदा वाह वाही पाए । पारिवारिक भ्रमणका क्रममा युएई आई पुगेका रानालाई डबलीले सम्मान पनि गरेको थियो ।
जिन्दगी हाम्रो उधारोमा चलेछ ,
रातदिन जिवन गाहारोमा चलेछ ।
तन र मन बन्धन बन्यो धन पनि बन्धन
लौन जिवनै तगारोमा चलेछ ।
हक सबैमा छ उज्यालो जिन्दगीको
तैपनि जिवन अध्यारोमा चलेछ ।
कर्मले संघर्ष गर्दैछौ बरोबर
भाग्य तर हाम्रो झटारोमा चलेछ ।

कार्यक्रममा अर्का अतिथि थिए जरा फाउण्डेशनका अध्यक्ष कृष्ण प्रसाई ।
मृत्यु चेत प्रधान मानिने जेन कविता बारे प्रकाश पार्दै तिनवटा छोटा कविता उनले कार्यक्रममा प्रस्तुत गरे ।
जमिन हास्यो
आफुलाई किन्नेको
आयु सम्झेर ।
…………………………
मेरो बस्ने घर
मैले आफै बनाए
उ निर्जिव थियो
म सजिव थिए ।
एक दिन उसले आफ्नौ ढोका
मलाई निर्जिब बनाएर निकाल्यो ।
बाँचुञ्जेल पैसा गनि रहन्थ्यो
मरेपछि हेरेको उसको कफनमा
कुनै गोजी थिएन ।

सुधार्नु पर्ने प्रबृति
नेपाली साहित्य सर्जकको एउटा सबै भन्दा नराम्रो प्रबृति छ आफ्नो सुनाउने अर्काको नसुन्ने । यो प्रबृति युएईमा पनि देखियो । भटाभट आफ्ना रचना सुनाउने टाप कस्नेको लर्को युएईमा पनि देखियो । जानु पर्ने बाध्यता आफ्नो ठाउँमा छ । कमसे कम अरुका रचना सुन्ने समय छैन भने आफ्ना रचना नसुनाउदा के बिग्रन्छ ? मैले बुझ्न सकेको छैन । रचना सुनाउनेको संख्या धेरै हुँदा कार्यक्रम ब्यवस्थापन गर्न चुनौति छदैछ आफ्नो पालो पर्खेर बसेकाहरुलाई आधा सहभागि गएपछि सुनाउन कति मजा आउला ?

अभिलेखको शुरुवात

सृजना बाचन डबलीमा रचना बाचन गर्यो एक छिन ताली बजायो हिड्यो गर्ने मात्र काम भएको छैन । यहाँबाचन भएका रचना उज्यालो नाईन्टी नेटवर्कको बुलबुल कार्यक्रममा प्रसारणको ब्यवस्था समेत मिलाईएको छ । लाईक नेपाल मार्फत पनि भिडियो प्रसारणको ब्यवस्था मिलाईएको छ । सर्जक दलवीर सिंह बराईलीले साहित्य र विविध नामक युट्यु च्यानल पनि संचालन गर्नु भएको छ । कार्यक्रममा बाचन भएका सबै जसो स्रष्टाका सृजनालाई त्यहाँ व्यवस्थित रुपमा प्रस्तुत गरिएको छ ।

पुस्तक साटेर पढ्ने चौतारी
सृजना बाचन डबलीमा आउने सर्जकले आफ्ना रचना बाचन गर्ने मात्र होईन पुस्तक साटासाट गर्ने अवसर पनि यसैलाई बनाउने रहेछन् । यो साह्रै राम्रो पक्ष लाग्यो । कार्यक्रम सकिएपछि एक जना सहभागिले आफुले पढेर सकेका पुस्तक देखाउदै “मसंग यि पुस्तक छन् । मैले पढेर सके तपाईलाई पढ्ने ईच्छा छ भने लैजानु होला । यत्ति हो आफुलेपछि पछि फेरी अर्को साथीलाई पढ्न दिनु होला । ” भने । यो सुन्दा मलाई अनौठो र राम्रो संस्कार देख्दा खुशी पनि लाग्यो ।

एउटै रचना बाचन गर्ने की ?

आफ्ना दर्जनौ रचनाबाट छानेर सुनाउन पर्दा सर्जकलाई कुन सुनाऔ कुन सुनाऔ लाग्नु स्वभाविक हो । दुई दुई महिनामा कार्यक्रम हुने भएर होला अहिले नसुनाए दुई महिना सुनाउन पाईदैन भनेर होला हरेक सर्जकले एक भन्दा बढि रचना बाचन गर्ने गरेको देखियो । डिउटी सकेर हतार हतार आएका र कार्यक्रम सकेर हतार हतार ड्युटीमा जानु पर्ने बाध्यता कार्यक्रममा सहभागि भएका सर्जकको अनुहारमा सहजै पढ्न सकिन्छ । आफ्नो कार्यस्थल वा बसोबास स्थलबाट कार्यक्रम भएको स्थानमा आउन र फर्कनका लागि पनि सवारी साधन तथा समयको व्यवस्थापन उत्तिकै महत्वपुर्ण हुन्छ । त्यसैले एउटै सहभागिले धेरै र लामा रचना सुनाउदा वा अन्य कुरा बोलेर धेरै समय बिताउदा अन्य सहभागिलाई पट्यार लाग्दो हुन्छ । यसमा सुधार गर्नै पर्छ । बिभिन्न संचारमाध्यममा प्रसारण गराउँदा पनि कुन रचनालाई प्राथमिकता दिने भन्ने कुरा जटिल बन्छ त्यसैले एउटा रचना सुनाउछु प्रभावकारी सुनाउछु भनेर आउन सक्दा कार्यक्रमको गरिमा अझ बढ्न सक्छ ।

यसो गरे कसो होला ?
२०६०/६१ तिर बुटवल साहित्य संगमको कार्यक्रममा म नियमित जसो पुग्ने गर्थे । त्यो संस्थाको न कोही अध्यक्ष छ न कुनै संस्थागत संरचना । तर पनि नियमित रुपमा साहित्यीक गोष्ठी भएकै छ । जुन आज सम्म निरन्तर छ ।हरेक पटक कार्यक्रम सकिएपछि अर्को कार्यक्रमको व्यवस्थापन र संचालनका लागि संयोजक तोकिन्थ्यो । उ आएर अरुले भन्दा पहिले माईन्युट बनाउने, कार्यक्रम स्थलको तयारी गर्ने साथै कुनै साहित्यकार कुनै शिलशिलामा बुटवल आएको भएमा कार्यक्रममा सहभागि गराउने आदि प्रयास गरेको हुन्थ्यो । कार्यक्रम संचालन उसैले गथ्र्यो । यो कुरालाई सृजना बाचन डबलीमा पनि निरन्तरता दिन सकिन्छ । अझ महत्वपुर्ण कुरा बुटवल साहित्य संगममा बाचन भएका रचनाको समिक्षा हुन्थ्यो ।
साहित्यकार ऋषी भुषाल, मुरारी पराजुली लगायतको समिक्षाले सर्जकलाई थप साधनाका लागि सदैव प्रेरित गरि रहेको हुन्थ्यो । पछिल्ला दिनमा उहाँहरुले कार्यक्रममा बाचित रचनाको समिक्षा स्थानीय दैनिक पत्रिकामा प्रकाशित गर्ने गरेको पनि पाईन्थ्यो । कार्यक्रमको संयोजकको जिम्मेवारी भएका सर्जकले पनि कार्यक्रममा बाचित रचनाका सन्दर्भमा पनि स्थानीय पत्र पत्रिकामा आलेक लेखेको पाईन्थ्यो । कारणबस कार्यक्रममा सहभागि हुन नपाएकाले पनि त्यो पढेर कार्यक्रमका बारेमा बाचित रचनाका बारेमा थाहा पाउथे । बाचित रचनाको कार्यक्रमका अन्त्यमा समिक्षात्मक टिप्पणी राख्ने चलन शुरु गर्न सके यसले सृजना बाचन डबलीमा बाचन हुने रचनालाई अझ परिस्कृत गराउन पक्कै पनि फाईदा पुग्छ भन्ने मलाई लागेको छ ।

One Response to "सृजना बाचन डबली -प्रवासमा सिर्जनशिल युवाको प्रयास"

  1. mohan   February 19, 2017 at 8:05 pm

    thank u shekhar ji

    Reply

Leave a Reply

Your email address will not be published.