साँफे बगरमा जहाज देख्ने आशा पलायो..

एकेन्द्र महता साँफेबगर,अछाम – अछामको साँफेबगर र आसपासका नागरिकहरुलाई हवाईजहाज देख्ने झिनो आशा पलाएको छ ।
हाल साँफेबगर विमानस्थल पुनःनिमार्ण हुने संकेत देखिएपछि याहाँका नागरिकहरुलाई हवाईजहाज देख्ने आशा जागेको हो । झण्डै १६ वर्ष अघि २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले सदरमुकाम मंगलसेन र साँफेबगरमा एकैसाथ आक्रमण गर्दा विमानस्थल पूर्ण रुपमा ध्वस्त भएको थियो । अछाम आक्रमणमा विमानस्थल र सरकारी कार्यालय ध्वस्त भए, सुरक्षा निकाय कर्मचारी र अन्य दर्जनौं मानिसहरुको ज्यान गएको थियो । सयौँ मानिस विस्थापित भए । धनजनको ठूलो क्षेती भयो र धेरै व्यपार व्यवसायीहरु अन्यत्रै पलायन भएका थिए ।
यो आक्रमणको घटना पछी यो क्षेत्रका जनताले हवाईजहाज चढ्ने त कता हो कता साँफेबगरमा हवाईजहाज अवतरण भएको देख्न समेत पाएका छैनन् । घटनामा एरपोर्ट, धावन मार्ग र बजार तहसनहस भयो । आक्रमण गरे यता यहाँको आकाशमा समेत विमान उडेको देखिदैन । जसका कारण विगतमा हवाई उडान भएको कुरा दन्त्य कथाझैं लाग्छ । हवाई सेवा नहुँदा अछामका बासिन्दाले मात्र होइन, सुदूरपश्चिमका सात जिल्लावासीले सास्ती भोगिरहेका छन् । हवाई सेवा बन्द हुँदा सुदूरपश्चिमको पर्यटन क्षेत्रमा नराम्रो धक्का पुगेको छ । यो क्षेत्रमा रहेका, नेपालका चार धाम मध्येको एक बैद्यनाथ धाम, खप्तड पर्यटन क्षेत्र, बडीमालिका, रामारोशन, बान्निगढी, प१चदेवल र निर्माण हुन लागेको बुढीगंगा जलविद्युत्, बान्नीगढी, आयोजना जस्ता पर्यटकीय हिसाबले भरीपूर्ण स्थानहरुमा पुग्न यहींबाट जानुपर्ने भएकाले यस क्षेत्रको विकासका लागि विमानस्थल सुचारु हुन अत्यावश्यक रहेको अगुवाहरूको बुझाइ छ ।
एमाले अछामका नेता प्रकाश शाह भन्छन् ‘ अछामा आक्रमण हुँदा याहाँका टावरका सामान लगाएतका उपकरणहरु अन्यत्रै लगिएको र साँफेबगर विमानस्थल सञ्चालनका लागि पूर्व उपप्रधान तथा रक्षा मन्त्री भिम रावल लगाएत सबै अगुवा एकजुट भएर लागिपरेका छौँ, हवाई सेवा भए आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिन्थ्यो । प्रदेश नं. सातका पहाडी जिल्लाहरुमध्ये साँफेबगर एक प्रमुख व्यापारिक केन्द्र मानिन्छ । सरकारले यस क्षेत्रलाई साना सहरको अवधारणा लागू गरेर कार्यान्वयनसमेत सुरु गरिसकेको छ । साँफेबगर विमानस्थल पहाडी जिल्लाका एयरपोर्ट मध्ये सहज भूगोलमा रहेको मानिन्छ । दुवैतर्फबाट सहज रूपमा जहाज अवतरण गर्न सक्ने ५ सय ५० मिटरभन्दा बढी क्षमताको एयरपोर्ट हो । २०६४ सालदेखि पूर्ण रूपमा बन्द रहेको साँफेबगर विमानस्थल सरकारले यसै आर्थिक वर्षभरिमा सुचारु गर्ने भनेपछि अछाम र आसपासका जनतामा झिनो आशा जागेको हो । कांग्रेस नेता राजन कुवँर भन्छन् ‘ साँफेबगर विमानस्थल सुदुरपश्चिमकै सुरक्षित विमान स्थल भएपनि विगतकाा बर्ष देखि आवश्यकता परेको बेला प्रयोग गर्न नपाएको गुनासो गर्छन् ।
हाल पाटन र साँफेबगर विमानस्थलमा धावन मार्ग पक्की गर्ने कार्य सुस्त गतिमा भइरहेको छ । साँफेबगर क्षेत्रका स्थानीय वासिन्दा भन्छन् ‘सरकारले बर्षेनी विमानस्थल पुनः सञ्चालन गर्ने आश्वासन दिन्छ, तर विमानस्थलको दुर्दशा जस्ताको तस्तै छ, । यात्रुहरुले हप्तौं बाटोमै अलपत्र पर्नुपर्ने स्थिति छ ।’ कच्ची सडक बाढी र पहिरोले भत्किँदा सुदूरपश्चिमका पहाडी जिल्लाका बासिन्दाले यात्राका लागि हैरानी खेप्नु परेको छ । यस्तै ः बुढीगंगा जलविधुत् आयोजना सरोकार मञ्चका अध्यक्ष तथा अगुवा कमल साउँद भन्छन् ‘हवाइ सेवा नहुँदा याहाँका जनताले इमरजेन्सी सेवा लिन नपाएर अकालमा ज्यान गुमाउनु परेको र राजधानी पुग्न तीन–चार दिनको यात्रा गर्नपर्ने बाध्यता रहेको छ ।’ साउँद फेरी थप्छन् ‘२१ औँ शताब्दीमा पनि यस्ता कैँयौँ सेवासुविधा नहुँदा ५१ साल पछि धकेलिएको महसुस भइरहेको छ ।’ साँफेबगर १० ठाँटी बजारका व्यपारी दिलिप बोगटीको पनि गुनासो रहेको छ । बोगटी भन्छन् ‘हवाई सेवा भइदिएको भए आवत–जावतमा छिटो छरीतो र गाडीको झन्झटीलो यात्रा भन्दा सजिलो हुन्थ्यो ।’ विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने योजना गत आर्थिक वर्षमा पनि थियो । चालू आर्थिक वर्षमा यसैलाई निरन्तरता दिँदै विमानस्थलको टर्मिनल भवनका लागि पनि केही बजेट विनियोजन गरिएको छ ।
कालोपत्रेका लागि अमर कन्सट्रक्सनसँग झण्डै नौ करोड रुपियाँमा ठेक्का सम्झौता भएको हो । सातओटै जिल्लामा हवाई सेवा सञ्चालनका लागि आवश्यक सबै उपकरणहरू थन्काइएका छन् । अन्य जिल्लाका विमानस्थलहरूमा टावर तथा विमानस्थल भवनलगायतका संरचनाहरु लथालिंग अवस्थामा रहेका छन् । विमानस्थल सञ्चालनका लागि बारम्बार फायल पेश गरी मन्त्रालयलाई झक्झक्यायँदा पनि फायल माथि कुनै सुनुवाइ नहुने गरेको यस क्षेत्रका राजनीतिक दलहरुको गुनासो छ । यस्तै अछामकै कमलबजारमा रहेको विमानस्थल गौचरणमा परिणत भएको छ । हवाइजहाज चढ्ने मात्र होइन हेर्न आउने सर्वसाधारणको समेत घुइँचो लाग्ने कमलबजार विमानस्थलमा अचेल दिनभर गाईभैंसी र बाख्राहरुको चरन क्षेत्र भएको छ । मैदान सञ्चालनमा ल्याउन स्थानीय बासिन्दाले विभिन्न निकायमार्फत आग्रह गरे पनि उनीहरुको माग पुरा भएको छैन । यस क्षेत्रका नौ जिल्लामध्ये कैलालीको धनगढी र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन्, भने अन्य आठ विमानस्थल बन्द अवस्थामा छन् । गुणस्तरीय विमानस्थल नभएका कारण सञ्चालनमा रहेका मध्ये बाजुराको कोल्टीमा हवाई सेवा नियमित नहुँदा बारम्बार जनगुनासो आउने गरेकोे बाजुराका पत्रकार गगन अयडीले बताए । अछामको साँफेबगर र कमलबजार, बझाङको चैनपुर, डोटीको दिपायल, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल पुनः मर्मत गर्नुपर्ने अवस्थामा छन् । तीमध्ये साँफेबगर,कमलबजार, गोकुलेश्वर र पाटन विमास्थलका रनवे नै भत्किसकेका छन् ।
द्वन्द्वअस्थामामा विमानस्थल बन्द भएका कारण केही जिल्लावासी त सडक यातायातको सुविधा लिन पनि पूरै दिन खर्चेर बल्ल सवारी साधन चढ्न पाउँछन् । द्वन्द्वकालमा ध्वस्त भएका विमानस्थलका पूर्वाधार पुनःर्निर्माण हुन समय लागे पनि रनवे लगायतका अत्यावश्यक पूर्वाधारहरु मर्मत गरि कम्तीमा सातामा एक उडान भर्न सके पनि यो क्षेत्रका नागरिकले केही राहत महसुस गर्न सक्थे । विस्तारै सबै जिल्ला र क्षेत्रलाई सडकले छोए पनि सेवा भरपर्दो छैन । पटक–पटकको बन्द र आमहड्तालले सडकमार्ग हवाई मार्गभन्दा महँगो हुँदाकोे पीडा त छ नै अर्काे तीर बर्षायाम सुरु हुने वित्तिकै याहाँका अधिकांश सडकहरुको दुरावस्था हुने गर्दछ । हवाइ सेवाको अभाबले सुदूरपश्चिमको धार्मिक एवं अन्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरु समेत ओझेलमा परेका छन् । साँफेबगर, दिपायल र पाटन लगाएत पुनःनिमार्ण हुन लागेका विमानस्थल कालोपत्रे गर्ने गरी सञ्चालन भएका ठेक्का अनुसार कत्तिको काम र प्रगति हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published.