खाडीमा एनआरएनएका सवालहरु

डिवी क्षेत्री, ओमन – श्रावण १२, २०७४- मध्यपूर्वमा गैर आवसीय नेपाली संघ (एनआरएन) को सदस्य किन बन्ने ? नेतृत्वमा को जाँदा के हुन्छ र ? मध्यपूर्वमा वैदेशिक रोजगारीमा कार्यरत झन्डै १७ लाखले बारम्वार यस्ता बिषय उठाइराख्छन् । जव जव एनआरएनएको अधिवेशनहरु हुन थाल्छन्, नयाँ सदस्य वन्ने प्रक्रिया शुरु हुन्छ । त्यतिखेर आम रुपमा यि बिषयप्रति प्रश्न उठ्न थालिहाल्छ ।
प्रवासमा रहेका नेपालीको सवाललाई एकिकृत रुपमा उठाउन र आपसी सहयोग समन्वय गर्न एनआरएनएको परिकल्पना गरिएको हो । सरकारले यसलाई पहिचान समेत दिंदै प्रवासी नेपालीको हितको पक्षमा काम गर्न सहकार्य समेत गर्नुको साथै जरुरी पनि ठानेको छ । जुन दिनसम्म हामी प्रवासको कर्मभुमिमा रहिरहन्छौ, त्यो दिनसम्म एनआरएनए हुन्छौं । यो हामी बिदेशिएका नेपालीका चौतारी हो । उकाली ओरालीको यात्राबाट एकछिन थकाई मार्ने, हावा लिने, को कहाँबाट आएको हो नहेरी गफिने, बाटो काट्दा साथीहरु भेटिने, अघि हिडेकाले पर्खने र पछि छुटेकाले भेट्ने अनि एकसाथ यात्रा गर्ने मिलन बिन्दु नै चौतारी हो । त्यही चौतारीको रुपमा एनआरएनलाई स्थापित गर्दै जानुपर्छ ।
अमेरिकामा बस्ने झा र अष्ट्रेलियामा वस्ने घले, जापानमा वस्ने भट्ट, जर्मनमा वस्ने पन्त, रसियामा बस्ने महतो, लामिछाने अनि मध्यपूर्वमा वस्ने कार्की, शाह, डङ्गोल, पान्डे, र साउदीमा वस्ने बेगमहरु एक ठाउँमा भेटिने ठाउँ नै एनआरएनएको चौतारीमा हो । हामी यही चौतारीमा चाडपर्व मनाउँछौं । मातृभूमिप्रतिको माया सुखदुख साट्छौं । आपतविपतमा परेको डोल्मादेखि विनास भएको लाप्राक—वारपाकका वासिन्दालाई मलमपट्टी लगाउन एक जुट हुन्छौं । अपवादमा भने स्वार्थीहरुको आवश्यकता परिपुर्ति गर्ने माध्यम पनि बनिदिएको छ । साझा मनोभावना पुरा गर्न सोझो मन चिताएर वस्नेहरु पनि छन् । प्रश्न मात्रै उठाउने पनि छन् । गाली गर्नेहरु पनि छन् ।
विश्वमा छरिएरका नेपालीको एकताको लागि हुर्केको एनआरएनए मध्यपूर्वका लागि झन बढी जरुरत छ । यसमा लाग्दैमा तपाई–हाम्रो राहदानी ‘इनभ्यालिड’ हुने होइन । वरु हरियो राहदानीको महत्व बढाउन र त्यो बोक्ने नेपालीको हितको पक्षमा सरकारलाई जतिखेर पनि सोच्न बाध्य वनाउन पहलकदमी गर्छ । यसको उच्च महत्वलाई नदेख्ने प्रवृत्ति पनि छ ।
काठमाडौंमा एनआरएनको भवन वनाउनको लागि उठाइएको लेवीले मध्यपूर्वमा विषेश चर्चा पाइरहेको छ । १० डलर लेवी एउटा युगका लागि बन्दै गरेको भवन लागि हो । संस्थाको सदस्यको हैसियतले एक कार्यकालका लागि ५ डलर अक्तिरिक्त दिएर एउटा भवन बनाउन सघाउँदा अपनत्व बढ्छ । कुनै बिदेशिएको नेपालीले मासिक एक डलर दिएर यो संस्थामा आवद्ध हुने हैसियत राख्दछ ।
श्रमिक वर्ग पनि सधै हामी श्रमिक वनेर हिनतावोध गरेर वस्नुहुन्न । यसको नेतृत्व चुन्ने र चुनिने प्रक्रियामा अव आफु पनि सहभागी हुन जरुरी छ । नत्र चाणक्यले ‘सही र असली मानिस राजनीतिमा नआउँदा भ्रष्टचारी र असक्षम मानिसले सक्षमलाई शासन गर्छ’ भने जस्तै हुन्छ । आउनुस पैसामा तपाईका राहदानीलाई आफ्नो भोट बनाउनेलाई गतिलो तमाचा दिउँ । खाडी–मलेसियामा भएका हामी सवै यो पवित्र चौतारीमा सहभागी बनेर सही नेतृत्व छानौं । आफु सम्मिलित भई एक धक्का दिउँ । दफा र बुँदा केलाएर गाली गरेर व्यवसाय गर्ने र बदमासी गर्ने नछुट्याई एकै शव्दमा गाली गरेर वस्नु उचित हुदैन ।
सरकारलाई प्रवासी श्रमिकका सवालप्रति चुप लागेर वस्न दिइएको छैन । हामी प्रवासी नेपालीको हितमा नीति वनाउने कार्यमा सरकारसँग सहकार्य गर्ने, आवश्यकता अनुसार दवाव दिनेमा केन्द्रित हुनुपर्छ । हजारे अभियान त्यसको एउटा उदाहरण हो । हाम्रै पहलमा विदेशमा कार्यरत नेपालीलाई सञ्चय कोषबाट सुबिधा दिलाउने काम भइरहेको छ । यसको लागि नियमवाली पनि वनिसकेको छ । हामीले सञ्चय कोषसंग सम्झौता गरिसकेका छौ । अब कसरी समेट्ने भनेर बृहत रुपमा छलफल भइरहेको छ । ढिलोचाँडो यो कार्यान्वयनमा अवश्य जान्छ । योगदानमा आधारित सामाजिक सुरक्षा लागुभएपछि प्रवासी कामदारको हितको लागि बाटो खुल्छ ।
श्रम स्वीकृति अनलाइन जानु, दूतावासलाई श्रमिकमैत्री र जवाफदेहि वनाउनु, अनलाइनबाट भिषा र डिमान्ड प्रमाणिकरण गर्नु, पुन: श्रम स्वीकृति दुतावासबाटै गराउने प्रयास हुनु निकै सुखद पक्षहरु हुन् । दुतावासले श्रम सम्झौताका लागि पहल गर्नु, दुतावासले नेतृत्व पाउनु, जीवन बिमाको राशी झन्डै तीन गुणले बृद्धि हुनु, मृतक कामदारका सन्तानको उच्च शिक्षासम्मको निशुल्क ब्यवस्था हुनु, बिदेशी जेलमा परेका निर्दोषलाई उद्धार गर्ने र सीडमनि राज्यले बेर्होर्न तयार हुने कार्य एनआरएनकै पहलकदमीका उपलब्धीहरु हुन् ।
एनआरएनएको अभियानका सामु प्रशस्त अवसर, अपेक्षा र चुनौती छन् । अझ खाडीमा त पाइला पिच्छे अपेक्षा छ । दुखी पीडितलाई एक टुक्रा खवुज र दही मात्रै दिन सकेपनि ठुलो राहत हुन्छ । उनीहरुको साथमा दूतावाससम्म गइदिनु वा स्थानीय श्रम कार्यालयसम्म गएर पीडितका आवाजहरु भनिदिनुमात्रै सकेपनि महान हुन्छ ।
एनआरएनले जाँघर तर्‍यो लोरो बिर्सियो गर्न हुदैन । हामी स्वयंसेवी भएर चल्ने हो भनेर मात्रै पनि बस्न मिल्दैन । कसैलाई आश्वासन दिइसकेपछि वा सपना देखाएपछि पुरा गर्नैपर्छ । खाडी–मलेसियाका कामदारलाई आवद्ध गर्ने हो भने उनीहरुसँग हिड्न पनि सक्नुपर्छ ।
एनआरएनको आगमी नेतृत्वको लागि रस्साकस्सी शुरु भइसकेको छ । अवको नेतृत्व चयन सहमतिमै हुनु पर्दछ । अरु दश बर्ष सहकार्यको नीति नलिई हुँदैन । तर त्यो छाँटकाँट देखिंदैन । हामीले उदाहरण देखाउन सक्नु पर्दछ । भुकम्प पीडितका लागि र एनआरएनएको आफ्नै घरहरु बनिरहेका छन् । भुकम्प पीडितलाई छिट्टै घर उपलब्ध गराउन नेतृत्व लागेको छ । यसको लागि सबै पक्ष तन मन धनले एकै ठाउँमा उभिनुपर्छ । अव आउने नेतृत्वको लुछाचुडी भयो भने बिभाजित बनाउने सम्भावना देखिएको छ । जसले असफलतातिर लैजानेछ । सवैले देखेको सवल व्यक्तिलाई सर्वसहमतिमा नेतृत्व दिनुपर्छ ।
अस्वस्थ प्रतिस्पर्धातर्फ मध्यपूर्व जानु हुँदैन । १८ महिना सिन्को नभाँच्ने अनि चुनावका अघिल्ला ६ महिनामा भोज भतेर गरेर संस्थाको संस्कार बिगार्ने चलन मेटाउनु पर्छ । धनीको संस्था हो भन्ने खेती गर्नुहुदैन । यस्तो भ्रम भए दाना पनि लाग्दैन । फल पनि फल्दैन । (क्षेत्री एनआरएनएका खाडी संयोजक हुन् ।) कान्तिपुर अनलाईन बाट

Leave a Reply

Your email address will not be published.