साहित्यकार संग्रौलाको बिदाई

दुबई, युएई – साहित्यकार तथा झापाली समाज युएईका संस्थापक केन्द्रीय सदस्य माइनसप्लस संग्रौलालाई युएईबाट बिदाई गरिएको छ । साहित्यको गलज विधामा कलम चलाएका संग्रौलाले साहित्यकार दिनेश मण्डुसँग मिलेर ‘प्रवासका दुई फूल’ नामक संयुक्त गजल संग्रह तीन वर्षअघि युएइबाटै सार्वजनिक गरिसकेका छन् ।
वैदेशिक रोजगारीका क्रममा करिब १२ वर्षअघि युएई आएका संग्रौलालाई झापाली समाज युएईले गत मे ५ तारिख दुबईमा एक औपचारिक कार्यक्रम गरी बिदाई तथा सम्मान कार्यक्रम गरेको युवा, खेलकुद तथा सांस्कृतिक विभागका संयोजक पारस लामाले जानकारी दिए ।
एकता, सहयोग र सहकार्यको मूलमन्त्रमा क्रियाशील झापाली समाजको अभियानमा आजका दिनसम्म काम गर्न पाउँदा आफू गौरवान्दित भएको सम्मानित व्यक्तिव संग्रौलाले बताएका छन् । झापाली समाजले चालेका विभिन्न कार्यक्रम र अभियानहरुमा नेपालमा या विश्वको जुन सुकै स्थानमा रहेर पनि योगदान गर्ने सग्रौलाले बताए । झापाली समाजको तर्फबाट केन्द्रीय कोषाध्यक्ष सुमन भट्राई, पत्रकार त्रिलोचन कोइराला, द्वितीय उपाध्यक्ष मात्रिका लम्सालले संयुक्त रुपमा बिदाई पत्रका साथ खाता ओडाएर सम्मान गरेका थिए ।
झापाली समाजका द्वितीय उपाध्यक्ष मात्रिका लम्सालको सभापतित्वमा सञ्चालित कार्यक्रममा समाजको महिला विभाग प्रमुख विनुता विमलीले झापाली समाजमा संग्रौलाले निर्वाह गरेको भूमिका उच्च रहेको र वहाँको अभाव महसुस गरिने बिदाइ मन्तव्यका क्रममा बताएकी थिइन् । झापाली समाजमा संग्रौलले निर्वाह गरेको भूमिका उच्च रहेको भन्दै दुबई क्षेत्रीय कमिटिका पूर्वअध्यक्ष प्रेम अधिकारी र वर्तमान अध्यक्ष सनम दंगालले उनको महत्व धेरै रहेको बताए । बिदाई मन्तव्य प्रकट गर्नेहरुमा केन्द्रीय सदस्य दिनेश नेपाल, सारजहाबाट बुद्ध लिंदेन, दुबईबाट श्रेया भण्डारीले पनि झापाली समाजमा संग्रौलाले निर्वाह गरेको भूमिका अतुलनीय रहेको चर्चा गरेका थिए । कार्यक्रममा फुजेरा क्षेत्रको नेतृत्व गर्दै खगेन्द्र कट्वालले संग्रौलाले समाजको विभिन्न अभियानमा सक्रियतापूर्वक भाग लिएको बताउँदै हार्दिक बिदाइ गरेका थिए ।
पत्रकार त्रिलोचन कोइरालाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमा समाजका दुबई, सारजहा, अबुधाबी, रास अल खेमा लगायत सबै क्षेत्रका करिब ३५ जना पदाधिकारीहरुले संग्रौलालाई बिदाई गरेका थिए । साहित्कार संग्रौला एक साताभित्रमा पुनः युएई नफर्कने गरी नेपाल जाँदै छन् ।

Leave a Reply

Your email address will not be published.