युएईमा २०४औ भानु जयन्ती मनाइदै

डिल्ली हुमागाइ – रोजगारीको सिलसिलामा युएईमा रहेका नेपालीहरुले २०४ औं भानुजयन्ती विविध साहित्यिक कार्यक्रम गरी मनाउने भएका छन् ।
समाजीकसेवा, खेलकुद र नेपाली कला, संस्कृति तथा साहित्यको विकासमा समर्पित नेपाली समुदाय युएईले २०४ औं भानुजयन्तीको उपलक्ष्यमा युएईव्यापी खुल्ला रचनावाचन समारोह– २०७४ गर्न लागेको छ । आगामी १४ जुलाई शुक्रबारका दिन युएइको मुख्य शहर बरदुबईस्थित श्री राज लस्सी सेन्टरमा युएईव्यापी खुल्ला रचना वाचन समारोह आयोजना गरेको नेपाली समुदायका अध्यक्ष मुन गुरुङले जानकारी दिएका छन् ।
उक्त साहित्यिक कार्यक्रमका संयोजक कृष अतृप्तीतले युएईमा क्रियाशील र सिकारु साहित्यानुरागीहरुलाई कविता, गजल, मुक्तक, लघुकथाका साथमा उपस्थित हुनका लागि आग्रह गरेका छन् । प्रान फुडले प्रायोजन गरेको उक्त साहित्यक कार्यक्रममा उत्कृष्ट सहभागीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । सोही कार्यक्रममा नेपाली समुदायको विकासमा योगदान पुर्याउने केही समाजसेवी तथा पत्रकारहरुलाई सम्मान गर्ने नेपाली समुदायको योजना रहेको बताइएको छ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मदिनको अवसरमा युएईमा कार्यरत नेपाली साहित्यानुरागी तथा श्रष्टाहरुको साहित्यप्रतिको रुचिलाई मलजल गरी उत्प्रेरणा दिने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको नेपाली समुदाय, युएईका संगठन विभाग प्रमुख रघुनाथ ढुंगेलले बताए । युएईका सबै प्रान्तहरुबाट श्रष्टा भेला गरी राष्ट्रिय विभूति भानुको योगदानको चर्चा गरी प्रवासी साहित्यकारहरुलाई एकै मञ्चमा नेपाली समुदायले उतार्न लागेको हो ।
सोही दिन युएईको राजधानी अबुधाबीमा पनि विशेष साहित्यक कार्यक्रम हुने जानकारी अनलाइनखबरलाई प्राप्त भएको छ । युएईमा स्थापित नेपाली साहित्यानुरागीहरुको अग्रसरतामा हरेक दुई महिनामा युएईका विभिन्न शहरहरुमा आयोजना भइरहेको सिर्जना वाचन डबलीको सातौं शृंखला अबुधाबीमा हुने भएको छ । यसपालिको शृंखला भानुजयन्ती विषेश रहने अभियन्ता जे सागरले बताएका छन् । सोही दिन गजलकार जे सागरको गजलसंग्रह युएईमा सार्वजनिकीकरण गर्ने कार्यक्रम पनि रहेको आयोजकले जानकारी दिएका छन् । यस कार्यक्रममा पनि आआफ्ना साहित्यिक रचनाका साथ उपस्थित हुन आह्वान गरिएको छ ।

Leave a Reply

Your email address will not be published.